+
Search

ताजा अपडेट +

पपुलर +

हुम्लाका सिडियो भन्छन्: लाप्चाका चीनले बनाएका भवन उसैको भूभागमा [अन्तर्वार्ता]

पालिका लाइभ
२०७७ आश्विन १२, सोमबार ०९:२९ गते

काठमाडौं- नेपाल र चीनको सिमाना लाप्चा क्षेत्रको ललुङ्जोङमा चिनियाँ पक्षले भवन निर्माण गरेको खबर बाहिरिएपछि सो स्थलको अनुगमन गर्न गएको टोलीका प्रमुख हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीसँंग अनुगमनबारे गोरखापत्रका राजन रावतले गरेको कुराकानी:

अनुगमनका क्रममा देख्नुभएको वास्तविकता के हो ?

वर्षको एकपटक सीमा स्तम्भको अनुगमन गर्नु नियमित कार्य हो। त्यही अन्तर्गत यसपालि समितिको टोली ललुङ्जोङमा पुगेर आएको हो। यसअघि चिनियाँ पक्षले नेपाली भूभागमा भवन बनाएको विषय बाहिर आएपछि सो विषयलाई लिएर स्थलगत अनुगमनमा गएको नेपाली टोलीले ललुङ्जोङमा निर्माण गरिएका सबै भवन चिनियाँ भूभागमै रहेको निष्कर्ष निकालेको छ।

नाम्खा गाउँपालिकाको लाप्चा क्षेत्रको भवन निर्माण स्थलमा दुवै देशका अधिकारीले दुई देशको नक्सा हेर्दा ती भवन चिनियाँ भूमिमै रहेको देखिएकाले नेपाली टोलीले उक्त निष्कर्ष निकालेको हो। त्यसै अनुसार टोलीले आफ्नो प्रतिवेदन बुझाएको छ।

ललुङ्जोङमा भएको गतिविधिबारे बताइदिनुुहुन्छ कि ?

चर्को हावाहुरीबीच ललुङ्जोङमा नेपाली र चिनियाँ अधिकारीबीच करिब आधा घण्टा दुई देशको नक्सा भिडाउने काम भयो। नक्सा हेर्दा भवन बनेको क्षेत्र ललुङ्जोङ चिनियाँ भूभागमा देखिएको हो। हाम्रो अनुगमन टोली प्राविधिज्ञ नभए पनि सीधा रूपमा नक्सा हेर्दा सो स्थान नेपाली भूभागमा पर्दैन।

हामीले हेर्ने विषय नै नक्सा हो। त्यसैले तथ्यगत र प्रमाणका आधारमा मात्र बुझेर सो विवाद बाहिर ल्याउँदा उपयुक्त होला । बिना प्रमाण बोल्नुहुँदैन। दुवै टोलीले नक्सा गहिरिएर हेरेका छन्। त्यसमा तलमाथि हुने ठाउँ देखिँदैन। स्थानीय बासिन्दाले के भन्छन् भन्दा पनि नक्सामा के छ भन्नेतर्फ लाग्न म सबैलाई आग्रह गर्छु।

त्यहाँ अरू के–के भयो ?

नेपाली टोलीलाई बाहिर आए जस्तो लखेटेको, बस्न नदिएको भन्ने कुरा गलत हो। हाम्रो टोली भवन निर्माणस्थल ललुङ्जोङसम्म ट्रिपर लिएर गएको हो। बरु कोरोनाका कारण दूरी कायम गरी छलफल गरिएको थियोे। चिनियाँ पक्षले माइकबाट जानकारी गरेको साँच्चै हो ।

त्यस्तो हुनु सामान्य हो तर भाषाले गर्दा समस्या आएको थियो । टोलीले नेपाली पक्षलाई पिउने पानीको समेत व्यवस्था गरेर दुई देशबीच सद्भाव देखाएको थियो । चिनियाँ टोली ताक्लाकोटबाट आउनुपर्ने भएका कारण केही समय नेपाली पक्षले कुर्नुपरेको थियोे । त्यो पनि अन्यथा मान्नुपर्ने विषय होइन ।

जनप्रतिनिधि र स्थानीय जनताको के भनाइ छ ?

तथ्य र प्रमाणका आधारमा बोल्नुपर्ने हुन्छ । मैले अघि नै भने दुवै देशका नक्सामा ललुङ्जोङमा बनेका भवन चिनियाँ भूभागमा पर्छन् । हामीसंँग पनि स्थानीय जनता र जनप्रतिनिधिले पहिलेबाटै नेपालीले वस्तु विनिमय गर्दा, खर्कका रूपमा प्रयोग गर्ने गरेको कुरा बताउँदै आउनुभएको थियो तर हामीसँंग त्यसको प्रमाण छैन ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ