+
Search

ताजा अपडेट +

पपुलर +

संसद्को हिउँदे अधिवेशन आजदेखि, विरोधको तयारीमा विपक्षी

पालिका लाइभ
२०८१ माघ १८, शुक्रबार ०८:५५ गते

फाइल तस्बिर

काठमाडौं– संघीय संसदको हिउँदे अधिवेशनको पहिलो दिनको बैठकमै सरकारलाई विपक्षी दलहरूको विरोधको सामना गर्नुपर्ने भएको छ । सरकारले आज हिउँदे अधिवेशनको पहिलो दिनको बैठकमा विभिन्न ६ अध्यादेश पेश गर्ने कार्यसूची छ ।

विपक्षी दलहरू त्यसैको प्रतिवाद गर्ने तयारीमा छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीसहितका नेताहरूले सम्बोधन गरिसकेपछि प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रसहितका विपक्षी दलका सांसदहरू विरोधमा उत्रिने तयारीमा रहेको स्रोतले बतायो ।

सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, निजीकरण (पहिलो संशोधन) अध्यादेश र आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश पेश हुने आजको कार्यसूची छ । त्यस्तै सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश पनि आजको कार्यसूचीमा चढाइएको छ ।

बिहीबार माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा बसेको विपक्षी दलहरूको बैठकले अध्यादेशको विरोधमा संसद्मा उत्रने निर्णय गरेको थियो ।

माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले माघ २ गते अध्यादेश ल्याइएको र माघ १८ गते संसद् अधिवेशन आह्वान गर्ने सरकारको मनसाय नै ठिक नभएको भन्दै संसद्मा सशक्त प्रतिवाद गर्ने बताए ।

सरकारले ल्याएका अध्यादेशहरू प्रक्रियागत हिसाबमामा समेत गलत भएको बताउँदै पाण्डेले भनेका छन्, ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक प्रतिनिधिसभाको अर्थ समितिमा दफावार छलफलमा रहेका बेला उक्त विधेयक फिर्ता नलिएरै सरकारले अध्यादेश ल्याउँछ । यो कसरी मिल्छ ? त्यसैले हामी सशक्त प्रतिवाद गर्छौँ ।’

अध्यादेशको विरोधसहित जनसरोकारका विषयहरू एकमत भएर संसद्मा उठाउने विपक्षी दलका नेताहरूले बताएका छन् ।

आज अध्यादेश पेस गर्दा नै विरोध गर्ने विपक्षी दलहरूको तयारी छ । तर, सरकार भने अध्यादेश प्रतिस्थापन विधेयकलाई पनि फास्ट ट्र्याकमा पास गर्ने रणनीतिमा छ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ