+
Search

ताजा अपडेट +

पपुलर +

महोत्तरीमा आईएमई ग्रुपको कागज उद्योग प्रधानमन्त्री ओलीले गरे उद्घाटन

हजारौँका लागि रोजगारीको अवसर: चन्द्र ढकाल

पालिका लाइभ
२०८१ फाल्गुन २२, बिहीबार २१:४८ गते

काठमाडौं- आईएमई ग्रुपले २ अर्ब रुपैयाँ लगानीमा महोत्तरीको गौशाला नगरपालिका-१, रामनगरमा स्थापना गरेको नेपाल पल्प एन्ड पेपर इन्डस्ट्रिज प्रालि सञ्चालनमा आएको छ। बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले ताम्रपत्र अनावरण गर्दै उद्योगको औपचारिक उद्घाटन गरेका हुन्।

उद्घाटनलगत्तै प्रधानमन्त्री ओलीले कागज उत्पादन प्रक्रिया र उद्योगमै रहेको वातावरणमैत्री क्यालसियम कार्बोनेट उत्पादन अवलोकन पनि गरे। यो उद्योगले अब दैनिक ७५ मेट्रिक टन लेखन तथा छपाइका लागि गुणस्तरीय कागज औद्योगिक स्तरमा उत्पादन गर्न थालेको छ। उद्योगले पहिलो चरणमा फोटोकपि पेपर र कापी-किताबका लागि प्रयोग हुने कागज उत्पादन सुरु गरेको हो।

शैक्षिक, प्रशासनिक तथा अन्य धेरै क्षेत्रमा उच्च माग रहेको फोटोकपि पेपर र अन्य कागजको उत्पादनले आन्तरिक बजारको माग सम्बोधन गर्ने उद्योगले जनाएको छ। विद्यालयका पाठ्यपुस्तक छपाइ गरिरहेको जनक शिक्षा सामग्री केन्द्रलगायतलाई समेत स्वदेशी उत्पादन प्रयोगका लागि ढोका खुल्नेछ।

उद्योग उद्घाटन समारोहलाई सम्बोधन गर्दै आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल पल्प एन्ड पेपर इन्डस्ट्रिज सञ्चालन आईएमई ग्रुपको उत्पादनमूलक क्षेत्रमा औपचारिक प्रवेश मात्र नभई नेपालको औद्योगिक यात्रामै नवजागरणका रूपमा लिएको बताए।

अध्यक्ष ढकालले नयाँ उद्योगको सञ्चालन मुुलुकको आत्मनिर्भरता, आर्थिक वृद्धि तथा दिगो औद्योगिक विकासप्रतिको प्रतिबद्धताका रूपमा लिन र विकासको राष्ट्रिय आकांक्षामा निजी क्षेत्रले गरेको ‘होस्टेमा हैँसे’को उदाहरण बनेको जिकिर गरे।

उद्योग बन्द हुने, लगानीकर्ता पलायन हुने र नेपाली युवा रोजगारीका लागि खाडी मुलुकमा जानुपर्ने बाध्यता कम गर्न उत्पादनमूलक उद्योगमा आईएमई ग्रुपको प्रवेश महत्त्वपूर्ण पाइला साबित अध्यक्ष ढकालको दाबी छ।

औद्योगिक विकास रोजगारीको प्रमुख कारक रहेको उल्लेख गर्दै अध्यक्ष ढकालले नेपाल पल्प एन्ड पेपर इन्डस्ट्रिजले ३०० भन्दा बढी जनालाई प्रत्यक्ष र अप्रत्यक्ष रूपमा त हजारौँका लागि रोजगारी सिर्जना गरेको बताए। जसमा इन्जिनियर, प्राविधिक र श्रमिकदेखि आपूर्ति व्यवस्थापक, खुद्रा बिक्रेता र किसानसम्म समावेश छन्।

उद्योगले ५० प्रतिशतभन्दा बढी स्थानीय र महिलालाई रोजगारीको अवसर दिन थालेको उनको भनाइ छ।

नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षका रूपमा ढकालले पछिल्लो समय नेपालमा लगानीमैत्री वातावरण निर्माणका लागि सरकारले ल्याएका कतिपय कानुन निकै सहयोगी सिद्ध हुने विश्वास लिएको बताए।

उनले मुलुकको अर्थतन्त्र सुधार र विकासका लागि आवश्यक नीति तथा कानुन निर्माणमा सरकारले निजी क्षेत्रका सुझाव सुन्न थालेको र आपसी समन्वयमा काम गरिरहेको निजी क्षेत्रले महसुस गरेको पनि बताए।

स्वदेशी होस् या विदेशी, लगानीकर्ताले फिल्डमा काम भए/नभएको हेर्ने गर्दछ। त्यसैले यस्तै नयाँ-नयाँ ठूला आयोजना वर्षमै सञ्चालनमा आए भने त्यसले मुलुकमा लगानीको वातावरण छ भन्ने अर्थ आफैँ लाग्नेछ। त्यसैले आज सञ्चालनमा आएको यो उद्योगले पनि नेपालमा लगानीको वातावरणको सकारात्मक सन्देश दिन्छ, अध्यक्ष ढकालले भने।

सो अवसरमा अध्यक्ष ढकालले पाथीभरामा बन्न लागेको केबलकारका विषयमा भएको विवादले मुलुकमा लगानी र व्यावसायिक वातावरणप्रति नकारात्मक सन्देश प्रवाह हुने आशंका व्यक्त गरे।

ताप्लेजुङका स्थानीय नागरिक, स्थानीय सरकार र प्रदेश सरकारले बारम्बार गरेको आग्रहमा पाथीभरामा केबलकार निर्माण परियोजना सुरु गरेको उल्लेख गर्दै अध्यक्ष ढकालले उक्त प्रसिद्ध देवस्थलको सांस्कृतिक मूल्य-मान्यता र पर्यावरणीय सन्तुलनजस्ता सबै पक्षलाई ध्यानमा राखेर र जिल्लावासी सबैको सहमति र सहभागितामा केबलकार निर्माण थालिएको जिकिर गरे।

तर काम सुरु भएलगत्तै जिल्लाभन्दा बाहिरबाट गएर अवरोध प्रयास भएको दाबी गर्दै उनले यस्तो प्रवृतिले लगानीकर्ता हच्किने भएकाले यसमा निजी क्षेत्र र राज्यले सोच्नुपर्ने अवस्था आएको अध्यक्ष ढकालले बताए।

पूर्वाधार निर्माणजस्तो काममा देखिएको अवरोध सूचना-प्रविधिको विकासले सानो बनिरहेको संसारभरि पुग्दा त्यसले विश्वका लगानीकर्तामा कस्तो सन्देश सञ्चार गर्ला भन्ने चिन्ता निजी क्षेत्रमा बढाएको पनि उनले बताए।

बदलिँदै गरेको विश्व परिवेशमा विदेशी अनुदान तथा सहायता घट्दै गएको यथार्थ मनन गरेर स्वदेशी उद्यमी, रोजगारी र राजस्व सिर्जना गर्ने कर्मशीलहरूलाई प्रोत्साहन गर्नुको विकल्प नरहेको उल्लेख गर्दै अध्यक्ष ढकालले प्रकृतिले दिएका अपार सम्भावना उपयोग गर्दै समृद्धिको यात्रामा सँगसँगै अगाडि बढ्न आह्वानसमेत गरे।

आज उद्घाटन भएको उद्योगको सन्दर्भ उल्लेख गर्दै अध्यक्ष ढकालले कैयौँ वर्षदेखि नेपाल कागज तथा कागजजन्य उत्पादनका लागि आयातमा निर्भर रहेकामा अब त्यो अवस्था नरहने दाबी गरे।

सो अवसरमा अध्यक्ष ढकालले आईएमई समूहको व्यावसायिक अभियानका प्राथमिकताबारे पनि जानकारी गराए। जसअनुसार पहिलो, राष्ट्रले प्राथमिकतामा राखेको क्षेत्रमा लगानी गर्ने, दोस्रो, बढीभन्दा बढी नागरिकलाई प्रत्यक्ष रूपमा लाभ पुग्ने क्षेत्रमा लगानी गर्ने र तेस्रो मुलुकको दीर्घकालीन र सबैको खाँचोको व्यवसाय बन्न सक्ने क्षेत्रमा लगानी गर्ने हो।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ